YouVersion Logo
Search Icon

यर्मिया 16

16
यर्मियाको निम्‍ति परमप्रभुको इच्‍छा
1परमप्रभुले फेरि मलाई भन्‍नुभयो, 2“यस ठाउँमा तैँले विवाह नगर्नू वा सन्‍तान खडा नगर्नू। 3यस ठाउँमा जन्‍मने बाल-बच्‍चा र तिनीहरूका आमा-बुबालाई के हुनेछ, त्‍यो म बताउनेछु। 4तिनीहरू डरलाग्‍दा रोगले मर्नेछन्, तिनीहरूको लागि शोक गर्ने वा तिनीहरूका लाशहरू गाड्‍ने मानिस एक जना पनि हुनेछैन। तिनीहरूका लाशहरू जमिनमा मलझैँ पडिरहनेछन्। तिनीहरू लडाइँमा वा भोकले मर्नेछन् र तिनीहरूका लाशहरू चरा-चुरुङ्गी र जङ्गली जनावरका आहार हुनेछन्।
5“रुवावासी भएको घरमा तँ नपस्‍नू। कसैको निम्‍ति विलाप नगर्नू। अब उसो कहिल्‍यै म मेरा प्रजामाथि शान्‍तिको आशिष् बर्साउनेछैनँ, नत प्रेम र कृपा नै देखाउनेछु। 6ठूला-साना दुवै यस देशमा मर्नेछन्। कसैले तिनीहरूका लाशहरू गाड्‍नेछैन वा तिनीहरूको निम्‍ति विलाप गर्नेछैन वा शोक मनाउँदै आफ्‍नो शरीर काट्‍नेछैन वा कपाल खौरनेछैन। 7कसैको प्रिय व्‍यक्ति मर्दा मर्नेको लागि विलाप गर्नेलाई सान्‍त्‍वना दिन उसित कोही भोजन खान वा पानी पिउन बस्‍नेछैन। कसैका आमा-बुबा नै मरेका भए पनि उसलाई कसैले सान्‍त्‍वना दिनेछैन।
8“भोज-भतेर भएको घरमा नपस, खान पिउन तिनीहरूसित तँ नबस्। 9#यर्मिया 7:34; 25:10; प्रकाश 18:23म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरले के भन्‍दछु, सुन्। आनन्‍द र रमाहटको आवाज, बिहेको भोजको हर्ष-बढाइ म बन्‍द गरिदिनेछु। यस देशका मानिसहरूले आफू मर्नुभन्दा अघि त्‍यो पूरा भएको देख्‍नेछन्।
10“तैँले यस जातिका मानिसहरूलाई जब यी सबै कुरा भन्‍छस्, तिनीहरूले तँलाई यसो भनेर प्रश्‍न गर्नेछन्, ‘किन परमप्रभुले हामीमाथि यस्‍तो कडा दण्‍ड दिने फैसला गर्नुभयो? हामीले के अपराध गरेका छौं? हामीले परमप्रभु हाम्रा परमेश्‍वरका विरुद्धमा के पाप गरेका छौं?’ 11तब तैँले परमप्रभु यसो भन्‍नुहुन्‍छ भनी तिनीहरूलाई जवाफ दे, ‘तिमीहरूका पिता-पुर्खाहरूले मलाई त्‍यागेर विराना देवताहरूको पूजा र सेवा गरे र मेरा शिक्षा पालन गरेनन्। 12तर तिमीहरूले आफ्‍ना पिता-पुर्खाहरूले भन्दा ज्‍यादा दुष्‍ट काम गर्‍यौ। तिमीहरू सबै अट्टेरी र दुष्‍ट भएका छौ र मेरा आज्ञा मान्‍दैनौ। 13तब म तिमीहरूलाई यस देशबाट निकालेर अर्को यस्‍तो देशमा हालिदिनेछु, जसबारे तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले केही पनि जानेका छैनन्। अनि त्‍यहाँ तिमीहरूले रात र दिन विराना देवताहरूको सेवा गर्नेछौ अनि म तिमीहरूमाथि आफ्‍नो कृपा देखाउनेछैनँ।”
कैदबाट फर्केका
14यसैले यस्‍ता दिनहरू आउँदै छन्, परमप्रभु भन्‍नुहुन्‍छ, जब मानिसहरूले शपथ खाँदा कहिल्‍यै ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी’ भन्‍नेछैनन्। 15तर तिनीहरूले ‘इस्राएलीहरूलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्‍कासन गर्नुभएको थियो, ती सबै देशबाट निकालेर ल्‍याउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी’ भन्‍नेछन्। मैले तिनीहरूका पिता-पुर्खालाई दिएको आफ्‍नै देशमा तिनीहरूलाई फर्काई ल्‍याउनेछु।”
आउन लागेको दण्‍ड
16परमप्रभु भन्‍नुहुन्‍छ, “म धेरै जालाहारीहरूलाई पठाउनेछु र तिनीहरूले यी मानिसहरूलाई पक्रनेछन्। त्‍यसपछि, म धेरै शिकारीहरूलाई पठाउनेछु र तिनीहरूले यिनीहरूलाई हरेक पर्वत, डाँडा र पहराका ओडारहरूबाट खोजी निकाल्‍नेछन्। 17म तिनीहरूको काम देख्‍दछु। केही मबाट लुकेको छैन। तिनीहरूको पाप मेरो दृष्‍टिबाट लुकेको छैन। 18तिनीहरूका पाप र दुष्‍ट्याइँको निम्‍ति म तिनीहरूलाई दोब्बर दण्‍ड दिनेछु किनभने तिनीहरूले मेरो देशलाई मुर्दाझैँ निर्जीव मूर्तिहरूले बिटुलो पारेका छन् र झूटा देवताहरूले भरेका छन्।”
यर्मियाको परमप्रभुमा भरोसाको प्रार्थना
19हे परमप्रभु, मेरो बल र मेरो किल्‍ला, दु:खका दिनमा मेरो शरणस्‍थान, पृथ्‍वीका कुना-काप्‍चाबाट जाति-जातिहरू तपाईंकहाँ आएर भन्‍नेछन्, “हाम्रा पिता-पुर्खाहरूसित त झूटा देवताहरू, बेकामका मूर्तिहरूबाहेक अरू केही थिएन। 20के मानिसहरूले आफ्‍ना देवी-देवताहरू आफैंले बनाउन सक्‍छन्? अँ, यदि सक्‍छन् भने तिनीहरू त ईश्‍वर होइनन्।”
21परमप्रभु भन्‍नुहुन्‍छ, “यसकारण म एकै पल्‍टमा ती जातिहरूलाई सदाकालको निम्‍ति मेरो शक्ति र सामर्थ्‍य देखाउनेछु। म परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन्।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in