YouVersion Logo
Search Icon

यशैया 36

36
यरूशलेमलाई अश्‍शूरीहरूको धम्‍की
(२ राजा १८:१३-२७; २ इतिहास ३२:१-१९)
1हिजकिया यहूदाका राजा भएको चौधौँ वर्षमा अश्‍शूरका महाराजा सनहेरीबले यहूदा देशका पर्खाल हालेका सहरहरूलाई आक्रमण गरे र आफ्‍नो कब्‍जामा लिए। 2त्‍यसपछि हिजकिया राजाले आत्‍मसमर्पण गरून् भनी माग गर्नलाई तिनले आफ्‍नो सेनापतिलाई एउटा ठूलो सेनाका साथ लाकीशबाट यरूशलेममा पठाए। ती सेनापति गएर धोबी खेतको बाटोमा रोकिए। त्‍यो बाटो माथिल्‍लो पोखरीबाट तलतिर पानी झर्ने कुलाको छेउमा थियो। 3तिनीहरूलाई भेट गर्न राजमहलका अधिकारी, हिल्‍कियाहका छोरा एल्‍याकीम, दरबारका सचिव शेब्‍ना र कागज-पत्र राख्‍ने अधिकारी आसापको छोरो योआ आए। 4के कुराले हिजकिया राजालाई ढुक्‍कै पार्‍यो, त्‍यो राजाले जान्‍न चाहनुहुन्‍छ भनी अश्‍शूरी सेनापतिले तिनीहरूलाई भने। 5तिनले सोधे, “के शब्‍दले सैनिक निपुणता र शक्तिको ठाउँ लिन सक्‍छ भनी तिमीहरू ठान्‍छौ? कसले तिमीलाई अश्‍शूरका विरुद्धमा विद्रोह गर्न मद्दत गर्छ भनी तिमीहरू भन्‍ठान्‍छौ? 6#इजकिएल 29:6,7मिश्रले तिमीहरूलाई मद्दत गर्छ भनी तिमीहरू आशा गर्दछौ, त्‍यो त फुटेको निगालाको लट्ठी टेकेजस्‍तो मात्र हुन्‍छ– त्‍यो भाँचिएर तिमीहरूकै हातमा रोपिनेछ। कोही मिश्रका राजामाथि भर पर्छ भने, त्‍यस्‍तै हुन्‍छ।”
7अश्‍शूरी सेनापतिले कुरा अघि बढाए, “तिमीहरू परमप्रभु तिम्रा परमेश्‍वरमा भर परेका छौ भनी तिमीहरू मलाई भन्‍छौ? हिजकियाले यरूशलेमको वेदीमा मात्र आराधना गर्न यहूदा र यरूशलेमका मानिसहरूलाई भनेको बेलामा तिनले परमप्रभुकै आराधना र वेदीहरू नाश पारेका थिए। 8महाराजाको नाममा म तिमीहरूसित एउटा बाजी राख्‍छु। तिमीहरूले घोडा चढ्‍न सक्‍ने दुई हजार पुरुष निकाल्‍यौ भने म तिमीहरूलाई दुई हजार घोडाहरू दिनेछु। 9तिमीहरू सबैभन्दा तल्‍लो दर्जाका अश्‍शूरी अधिकृतको पनि दाँजोमा छैनौ अनि कसरी मिश्रीहरूले तिमीहरूलाई रथ र घोडचढी सेना पठाइदिन्‍छन् भनी आशा गर्छौ। 10के मैले परमप्रभुको सहायताबिना गरेको हो भनी तिमीहरू सोच्‍दछौ? परमप्रभु आफैंले तिम्रो देशलाई हमला गरी नाश गर्न मलाई भन्‍नुभएको हो।”
11तब एल्‍याकीम, शेब्‍ना र योआले ती सेनापतिलाई भने, “हामीसित अरामी भाषामा बोल्‍नुहोस्। हामी अरामी बुझ्‍छौं। हिब्रू भाषामा नबोल्‍नुहोस्। पर्खालमा भएका सबै मानिसहरूले हाम्रा कुरा सुन्‍दैछन्।”
12तिनले जवाफ दिए, “तिमीहरू के यो सोच्‍दछौ कि राजाले मलाई यी कुरा राजा र तिमीहरूलाई मात्र भन्‍न पठाएका हुन्? होइन, पर्खालमा बसेका मानिसहरूसँग पनि म बोल्‍दै छु। तिनीहरूले पनि तिमीहरूजस्‍तै आफ्‍नो मल खानु र आफ्‍नो मूत्र पिउनुपर्नेछ।”
13तब ती सेनापतिले उभिएर हिब्रू भाषामा जोडले भने, “अश्‍शूरका महाराजाले तिमीहरूलाई के भन्‍दै छन्, त्‍यो तिमीहरू सुन। 14तिमीहरूलाई हिजकियाका छलमा नपर्न राजाले चेतावनी दिँदै छन्। हिजकियाले तिमीहरूलाई बचाउन सक्‍दैन। 15परमप्रभुमा भर पर्नुपर्छ भन्‍ने तिनको कुरा नपत्‍याओ। परमप्रभुले तिमीहरूलाई बचाउनुहुनेछ र हाम्रा अश्‍शूरी सेनालाई तिम्रा सहर कब्‍जा गर्न दिनुहुन्‍न भनी नसोच। 16हिजकियाका कुरा नसुन! सहरबाट निस्‍किआएर समर्पण गर्न अश्‍शूरका राजाले तिमीहरूलाई आज्ञा गरेका छन्। त्‍यस बेलासम्‍म तिमीहरू आफ्‍नो बारीका दाख र नेभारा खान अनि आफ्‍नै कुवाका पानी पिउन पाउनेछौ, 17जबसम्‍म राजाले तिमीहरूलाई तिमीहरूका जस्‍तै अर्को एउटा देशमा बसाल्‍नेछैनन्। त्‍यहाँ दाखमद्य दिने दाखबारी र रोटी बनाउन अन्‍न हुनेछन्। 18परमप्रभुले हाम्रो रक्षा गर्नुहुन्‍छ भनी सोच्‍ने मूर्खहरू तिमीहरूलाई हिजकियाले बचाउन नसकोस्। के अरू कुनै देशमा देवी-देवताहरूले ती देशलाई अश्‍शूरका राजाका हातबाट बचाए? 19अहिले ती देवी-देवताहरू कहाँ छन्? हमात र अर्पादका देवी-देवताहरू कहाँ छन्? सपर्बेमका देवी-देवताहरू कता गए? के कसैले सामरियालाई बचायो? 20यी सबै देशका कुन देवताले कहिल्‍यै ती देशहरूलाई हाम्रा राजाका हातबाट बचाए? तब परमप्रभुले यरूशलेमलाई बचाउनुहुन्‍छ भनी तिमीहरू कसरी सोच्‍न सक्‍छौ?”
21मानिसहरू चुप भए। हिजकिया राजाले तिनीहरूलाई त्‍यसरी नै चुप रहन भनेका थिए। तिनीहरूले एउटै शब्‍द बोलेनन्। 22त्‍यसपछि एल्‍याकीम, शेब्‍ना र योआले शोकले आफ्‍ना वस्‍त्र च्‍याते र अश्‍शूरी सेनापतिले भनेका कुरा राजाकहाँ गएर सुनाए।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in