YouVersion Logo
Search Icon

प्रस्‍थान 9

9
पशुहरू मर्छन्
1परमप्रभुले मोशालाई भन्‍नुभयो, “राजाकहाँ जा र भन्, परमप्रभु हिब्रूहरूका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘मेरा प्रजालाई जान दे र तिनीहरूले मेरो भक्ति गरून्। 2तैँले फेरि तिनीहरूलाई जान दिइनस्‌ भने 3म तेरा सबै पशुहरू: घोडा, गधा, ऊँट, गाई-गोरु र भेडाबाख्राहरूमाथि डरलाग्‍दो रुढि पठाएर तँलाई दण्‍ड दिनेछु। 4इस्राएलीहरूका पशुलाई मिश्रीहरूका पशुदेखि म अलग गर्नेछु र इस्राएलीहरूका पशु मर्नेछैनन्। 5म परमप्रभुले भोलि यो काम गर्नलाई मैले समय तोकेको छु’।”
6भोलिपल्‍ट परमप्रभुले आफूले भनेअनुसार गर्नुभयो र मिश्रीहरूका सबै पशुहरू मरे। इस्राएलीहरूका पशु एउटै पनि मरेनन्‌। 7राजाले के भयो भनी सोधे र इस्राएलीहरूको एउटै पशु पनि मरेन भनी कसैले उनलाई भन्‍यो। तर राजाले आफ्‍नो मन कठोर पारे र ती मानिसहरूलाई जान दिएनन्।
घाउ-खटिरा
8तब परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “आगोको भट्टीबाट एकदुई मुट्ठी खरानी लेओ। मोशाले ती खरानी राजाको अघि हावामा छरोस्। 9खरानी मसिनो धुलाझैँ भएर सारा मिश्रदेशभरि फैलिनेछ र सबै मानिस र पशुहरूका शरीरमा पिलो निस्‍कनेछ। ती पिलाहरू फुटेर घाउखटिरा बन्‍नेछन्।” 10#प्रकाश 16:2यसरी ती दुई खरानी लिएर राजाकहाँ गए। मोशाले खरानी हावामा फ्‍याँकिदिए र त्यो खरानीले सबै मानिस र पशुहरूका शरीरमा पिलो उब्‍जाइदियो। पिलो फुटेर घाउखटिरा भयो। 11अरू सबै मिश्रीहरूको शरीरमा जस्‍तै जादूगरहरूका शरीरमा पनि पिलो निस्‍क्यो र तिनीहरू मोशाको अघि देखा पर्न पनि सकेनन्। 12तर परमप्रभुले राजाको हृदय कठोर बनाउनुभयो। परमप्रभुले भन्‍नुभएअनुसार तिनले मोशा र हारूनका कुरा मानेनन्।
असिना
13परमप्रभुले मोशालाई भन्‍नुभयो, “भोलि बिहानै राजालाई भेटेर भन्, ‘परमप्रभु हिब्रूहरूका परमेश्‍वर भन्‍नुहुन्‍छ, मेरा प्रजालाई जान दे र तिनीहरूले गएर मलाई पुजून्। 14होइन भने यसपालि म तेरा भारदार र प्रजालाई मात्र होइन; तर तँलाई पनि दण्‍ड दिनेछु। तब तँले जान्‍नेछस्‌ कि मजस्‍तो परमेश्‍वर यस संसारमा अरू कुनै पनि छैन। 15मैले आफ्‍ना हात उठाएर तँ र तेरा प्रजामाथि रूढि पठाएको भए तिमीहरू सबै पूर्णरूपमा नाश हुने थियौ। 16#रोमी 9:17तर मेरो शक्ति देखाउन मैले तिमीहरूलाई बाँच्‍न दिएको छु। यसरी सारा संसारमा मेरो नाम फैलिनेछ। 17तर अझैसम्‍म तँ ढिट भइरहेको छस्‌ र मेरा प्रजालाई जान दिएको छैनस्‌। 18भोलि यसै बेला यस्‍तो घनघोर असिना वर्षाउनेछु कि त्‍यस्‍तो असिना कहिल्‍यै मिश्रमा परेको थिएन। 19अब बाहिर मैदानतिर भएका तेरा गाई-वस्‍तु र अरू सबै थोक ओत लगाउने आज्ञा दे। बाहिर ओतबिना छोडिएका मानिस र पशुहरूमाथि असिना ओइरिनेछ र ती सबै मर्नेछन्।” 20परमप्रभुले भन्‍नुभएको कुरा सुनेर राजाका केही भारदारहरू डराए। ती सबैले आफ्‍ना पशु र कमाराहरूलाई घरभित्र ल्‍याएर ओत लगाए। 21तर अरूले चाहिँ परमप्रभुको चेतावनीमाथि ध्‍यानै दिएनन् र आफ्‍ना गाई-वस्‍तु र कमाराहरूलाई खुला मैदानमा छोडिदिए।
22तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “तेरो हात आकाशतिर पसार्‌ र सारा मिश्रदेशमा असिना वर्षनेछ– मानिस, पशु र मैदानमा भएका घाँसपात जम्‍मैमाथि असिना वर्षनेछ।” 23मोशाले आफ्‍नो लट्ठी आकाशतिर उचाले। गड्याङगुडुङसँगै परमप्रभुले असिना वर्षाउनुभयो र जमिनमा चट्याङ खस्‍न लाग्‍यो। 24#प्रकाश 8:7; 16:21परमप्रभुले घनघोर असिना वर्षाउनुभयो, आकाशमा बिजुली वारपार चम्‍कियो। मिश्रदेशमा यस्‍तो आँधी-बेहरी पहिले कहिल्‍यै भएको थिएन। 25सारा मिश्रभरि खुला मैदानमा रहेका पशुहरू र सबै थोकलाई असिनाले चुटेर सोतर पार्‍यो। मैदान र जङ्गलका रूखपातहरू नाङ्गै भए। 26इस्राएलीहरूले बास गरेको गोशेन प्रदेशमा मात्रै असिना परेन।
27राजाले मोशा र हारूनलाई बोलाएर भने, “यस पालि मैले पाप गरें। परमप्रभु ठीक हुनुहुन्‍छ, म र मेरा प्रजाले भुल गर्‍यौं। 28परमप्रभुसँग प्रार्थना गरिदेओ। यो गर्जन र असिना अति नै भयो। म वचन दिन्‍छु कि म तिमीहरूलाई जान दिनेछु, अब तिमीहरू यहाँ बस्‍नुपर्दैन।”
29मोशाले राजालाई भने, “सहरबाट बाहिर जानेबित्तिकै मेरा हातहरू उचालेर परमप्रभुलाई प्रार्थना गर्नेछु। गर्जन बन्‍द हुनेछ र असिना थामिनेछ। तब यो पृथ्‍वी परमप्रभुको हो भनी तपाईंहरूलाई थाहा हुनेछ। 30तर म जान्‍दछु कि तपाईंहरू– तपाईं र तपाईंका भारदारहरूले अझसम्‍म परमप्रभु परमेश्‍वरको भय मान्‍नुहुन्‍न।”
31जौ पाकिसकेको थियो र सनपाट फुलिसकेको थियो तर असिनाले ती सबै नष्‍ट भए। 32तर गहुँचाहिँ बाँच्‍यो किनभने त्‍यसमा बाला लागेको थिएन।
33राजाबाट बिदा भएर मोशा बाहिर गए र हात उचालेर परमप्रभुलाई प्रार्थना गरे अनि आकाशको गर्जन, असिना र वर्षा सबै थामियो। 34त्‍यो देखेर राजाले फेरि पाप गरे। तिनी र तिनका भारदारहरू सबै अघिझैँ कठोर भए। 35अनि परमप्रभुले अघिबाटै मोशालाई भन्‍नुभएअनुसार राजाले इस्राएलीहरूलाई जान दिएनन्।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in