YouVersion Logo
Search Icon

प्रस्‍थान 24

24
करारमा छाप लाग्छ
1परमप्रभुले मोशालाई भन्‍नुभयो, “तँ, हारून, नादाब, अबीहू र सत्तरी जना इस्राएलका अगुवाहरू पर्वतमा मकहाँ आओ। अलिक टाढाबाट तिमीहरूले झुकेर मलाई पुज्‍नू। 2तँ मात्र मेरो छेउमा आउनू, अरूहरू मेरो नजिक नआऊन् अनि मानिसहरूले त पहाडमा खुट्टा पनि नटेकून्।”
3मोशाले गएर मानिसहरूलाई परमप्रभुका सबै आज्ञा र धर्म-विधिहरू सुनाए। मानिसहरूले एकसाथमा उत्तर दिए, “परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी पूरा गर्नेछौं।” 4मोशाले परमप्रभुका सबै आज्ञाहरू लेखे। भोलिपल्‍ट बिहानै उनले पर्वतको फेदमा एउटा वेदी बनाए र त्‍यहाँ इस्राएलका एक-एक कुलको लागि एउटा-एउटा गरेर जम्‍मा बाह्रवटा ढुङ्गा थुपारे। 5तब उनले युवाहरूलाई पठाए र तिनीहरूले परमप्रभुकहाँ होम-बलि चढाए र केही साँढेहरू मेलबलि चढाए। 6ती पशुहरूका आधा रगत मोशाले भाँडामा हाले र आधाचाहिँ वेदीमा छरिदिए। 7त्‍यसपछि उनले परमप्रभुका आज्ञाहरू लेखिएका करारको पुस्‍तक लिए अनि मानिसहरूका सामु चर्को स्‍वरमा पढेर सुनाए। मानिसहरूले भने, “हामी परमप्रभुका आज्ञापालन गर्नेछौं र परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा पूरा गर्नेछौं।”
8 # मत्ती 26:28; मर्कूस 14:24; लूका 22:20; १ कोरिन्थी 11:25; हिब्रू 10:29; हिब्रू 9:19,20 तब मोशाले भाँडाको रगत लिए र मानिसहरूमाथि छर्के। उनले भने, “यी आज्ञाहरू दिनुहुँदा परमप्रभुले तिमीहरूसित बाँध्‍नुभएको करारमा छाप लाउने रगत यही हो।”
9मोशा, हारून, नादाब, अबीहू र सत्तरी जना इस्राएलका अगुवाहरू पर्वतमाथि गए र 10तिनीहरूले इस्राएलका परमेश्‍वरको दर्शन गरे। उहाँको चरणमुनि नीरले छापेको आकाशजस्‍तो नीलो बाटो थियो। 11परमेश्‍वरले यी इस्राएलका अगुवाहरूलाई केही हानि गर्नुभएन। तिनीहरूले परमेश्‍वरको दर्शन गरे र एकसाथ खाए अनि पिए।
सीनै पर्वतमा मोशा
12परमप्रभुले मोशालाई भन्‍नुभयो, “पर्वतमाथि मकहाँ आइज र त्‍यहाँ म तँलाई दुईवटा शिला-पाटीहरू दिनेछु। मैले मानिसहरूको शिक्षाको निम्‍ति लेखेका सबै आज्ञाहरू ती पाटीमा छन्।” 13मोशा र उनका सहायक यहोशू तयार भए र मोशा पवित्र पर्वत उक्‍लन लागे। 14मोशाले ती अगुवाहरूलाई भने, “हामी फर्की नआएसम्‍म यहीँ डेरामा हामीलाई पर्खेर बस। हारून र हूर यहाँ तिमीहरूसित छन् र कसैको केही कुरा छलफल गर्नुपर्नेछ भने तिनीहरू ती दुईकहाँ जान सक्‍छन्।”
15मोशा सीनै पर्वतमाथि गए र बादलले पर्वतलाई ढाक्‍यो। 16-17परमेश्‍वरको उपस्‍थितिमा चम्‍किलो ज्‍योति पर्वतमा पर्‍यो। त्‍यस ज्‍योतिलाई इस्राएलीहरूले पर्वतमाथि जलिरहेको आगोजस्‍तो देखे। बादलले पर्वतलाई छ दिनसम्‍म ढाकिराख्‍यो र सातौँ दिन परमेश्‍वरले बादलका बीचदेखि मोशालाई बोलाउनुभयो। 18#व्यवस्था 9:9मोशा पर्वतमा गएर बादलभित्र पसे। उनी त्‍यहाँ चालीस दिन र चालीस रात बसे।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in