व्यवस्था 13
13
1-2“अघि तिमीहरूले कहिल्यै नपूजेका देवतालाई पूजा र सेवा गर्नलाई कुनै अगमवक्ता वा सपनाको अर्थ लाउने मानिसले तिमीहरूलाई उदेक वा अचम्मको काम देखाउनेछु भन्ला। त्यसले भनेको कुरा साँचो भए तापनि 3त्यसलाई ध्यान नदेओ। तिमीहरूको जाँच लिनलाई र आफ्नो पूरा हृदयले परमप्रभुलाई प्रेम गर्छौ कि गर्दैनौ, सो बुझ्नलाई परमप्रभु तिम्रा परमेश्वरले त्यस मानिसलाई चलाउनुभएको हो। 4परमप्रभुलाई पछ्याओ र उहाँको भय मान, उहाँले भनेका कुरा मान र उहाँका आज्ञाहरू पालना गर, उहाँलाई पूज र उहाँप्रति विश्वासयोग्य होओ। 5तर कुनै अगमवक्ता वा सपनाको अर्थ लाउने मानिसले तिमीहरूलाई कमारा-कमारी भई बसेको मिश्रदेखि बचाउनुहुने परमप्रभुको विरुद्धमा विद्रोह गर्न उचाल्यो भने त्यसलाई मारिदेओ। त्यो दुष्ट मानिस हो। परमप्रभुले जस्तो प्रकारको जीवन बिताउन भनी तिमीहरूलाई आज्ञा गर्नुभएको छ, त्यस्तै जीवनबाट तिमीहरूलाई टाढा लैजाने त्यसले चेष्टा गर्दै छ। त्यस दुष्ट व्यक्तिबाट आफैंलाई बचाउनको लागि त्यसलाई मार्नैपर्छ।
6“तिमीहरूले प्रेम गरेका तिम्रा भाइ वा छोरा, तिम्री स्वास्नी वा छोराले तथा तिम्रा खुबै नजिकका साथीले पनि तिम्रा पुर्खाहरूले कहिल्यै नपूजेका अरू देवताहरू पुज्नलाई गुप्तमा तिमीहरूलाई सुर्याउन सक्दछन्। 7तिनीहरूमध्ये कुनै एक जनाले पनि तिमीलाई तिम्रा नजिक वा टाढामा बस्ने मानिसहरूका देवताहरू पुज्नू भनी सुर्याउन सक्छ। 8तर त्यसको कुराले असर नपरोस्। त्यस्ता कुरा सुन्दै नसुन। त्यसमाथि दयामाया वा करुणा नदेखाओ। त्यसको रक्षा गर्ने काम नगर। 9त्यसलाई मार। त्यसलाई पहिले तिमीले नै ढुङ्गाले हान र अरूले पनि त्यसलाई ढुङ्गाले हानून्। 10त्यसलाई ढुङ्गा हानेर मार। परमप्रभुले तिमीहरूलाई मिश्रदेशदेखि निकाली ल्याउनुभयो, जहाँ तिमीहरू कमारा-कमारी थियौ; तर त्यसले तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरदेखि टाढा लैजान खोज्यो। 11तब त्यो घटनाबारे इस्राएलका सबै मानिसहरूले सुन्नेछन् र डराउनेछन्। कसैले फेरि कहिल्यै यस्तो खराब काम गर्नेछैन।
12“तिमीहरू परमप्रभुले दिनुभएको सहरहरूमा बास गर्दा तिमीहरूले यस्तो कुरा सुनौला 13कि तिम्रा जातिका कोही बेकामे मानिसहरूले तिम्रा सहरका मानिसहरूलाई तिमीहरूले कहिल्यै नपूजेका देवताहरू पुज्नलाई कुबाटोमा लगेका छन्। 14तिमीहरूले त्यस्तो हल्ला खबर सुन्यौ भने त्यसको पूरा जाँच गर्नू र त्यस्तो दुष्ट कुरा भएको साँचो हो रहेछ भने 15त्यस सहरका सबै मानिसहरूलाई तिनका गाई-वस्तुसमेत मारिदिनू। त्यस सहरलाई पूरा ध्वस्त पारिदिनू। 16त्यहाँ बस्ने सबै मानिसहरूका जायजेथा एक ठाउँमा जम्मा गरेर सहरका चोकमा राश लगाओ। त्यसपछि परमप्रभु आफ्ना परमेश्वरको बलिदानका रूपमा त्यो सहर र त्यसमा भएका सबै थोक जलाइदेओ। त्यो सहर सधैँभरि ध्वस्त भएर रहोस् र त्यो फेरि कहिल्यै नबनाउनू। 17ध्वस्त गर्नलाई ठहराएको कुनै थोक आफ्नो लागि नराख्नू, तब परमप्रभु आफ्नो भयानक क्रोधबाट फर्कनुहुनेछ र तिमीहरूलाई दयामाया देखाउनुहुनेछ। उहाँ तिनीहरूमाथि कृपालु हुनुहुनेछ र तिमीहरूको सङ्ख्या तिम्रा पुर्खाहरूलाई प्रतिज्ञा गरेअनुसार अनगिन्ती तुल्याउनुहुनेछ।
18यदि मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू सबै तिमीहरूले पालन गर्यौ र उहाँको इच्छाअनुसार काम गर्यौ भने उहाँले त्यसो गर्नुहुनेछ।
Currently Selected:
व्यवस्था 13: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.