२ तिमोथी 2
2
येशू ख्रीष्टको भक्त सिपाही
1यसकारण तिमीचाहिँ ए मेरा छोरा, ख्रीष्ट येशूले दिनुभएको अनुग्रहले दह्रो होऊ। 2मैले धेरै मानिसहरूका अघि तिमीलाई शिक्षा दिएको कुरा अरू सिकाउन सक्ने विश्वासी मानिसहरूलाई पनि देओ। 3ख्रीष्ट येशूको साँचो सिपाही भएर तिमी पनि दु:ख उठाऊ। 4फौजमा भएको सिपाहीले आफ्नो सेनापतिलाई खुसी पार्न अरू काममा अल्मलिंदैन। 5खेलमा भाग लिनेले खेलका नियमहरू नमानेसम्म इनाम पाउन सक्दैन। 6पसिना बगाएर खेती गर्नेले नै फसलको पहिलो भाग पाउनुपर्दछ। 7मैले भनेका यी कुराहरूमा विचार गर किनभने प्रभुले नै तिमीलाई यी सबै कुराहरू बुझ्ने शक्ति दिनुहुनेछ।
8मरेकोबाट बिउँतनुभएका राजा दाऊदका सन्तान येशू ख्रीष्टलाई सम्झिराख। यही नै मैले प्रचार गरेको सुसमाचार हो। 9त्यही सुसमाचार सुनाएको हुनाले मैले दु:ख भोगेको हुँ। त्यति मात्र होइन, अपराधीझैँ साङ्लाले बाँधिएर थुनामा परेको छु। तर परमेश्वरको शिक्षाचाहिँ थुनिएको छैन। 10यसकारण परमेश्वरले छानेकाहरू येशू ख्रीष्टमा भएको चहकिलो र सधैँभरि रहने मुक्ति पाउन सकून् भनेर म तिमीहरूका लागि सबै कुरा सहन सक्नेछु। 11साँचो भनाइ छ:
“हामी उहाँसँगै मर्यौं भने फेरि उहाँसँगै बिउँतनेछौं।
12 #
मत्ती 10:33; लूका 12:9 हामीले उहाँसँगै दु:ख भोग्यौं भने उहाँसँगै राज्य पनि गर्नेछौं।
उहाँलाई हामीले इन्कार गर्यौं भने उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ।
13हामी विश्वासी नभए पनि उहाँ त विश्वासयोग्य नै रहनुहुन्छ
किनभने उहाँ इन्कार गर्न सक्नुहुन्न।”
दुई किसिमका शिक्षकहरू
14तिम्रा मानिसहरूलाई यस कुरामा सम्झाइदेओ। शब्द-शब्दमा लडाइँ नगर्नू भनेर तिनीहरूलाई परमेश्वरकै सामुन्नेमा सम्झाऊ। झगडाबाट त केही पनि फाइदा हुँदैन। यसले त ती सुन्ने मानिसहरूलाई नै बिगार्दछ। 15लाज मान्नु नपर्ने र सत्यको सन्देशलाई ठीकसँग प्रयोग गर्ने सेवकजस्तै परमेश्वरलाई मनपर्ने गरी उहाँको अगाडि उहाँकै कुरा बोल्न तयार भइरहन कोसिस गर। 16संसारका मूर्ख कुराहरूबाट पन्सिएर बस। यसले त मानिसहरूलाई परमेश्वरबाट झन्-झन् टाढा पुर्याउँदछ। 17त्यस्ता शिक्षा कुहेर बढ्दैजाने घाउजस्तै हुनेछ। हुमेनियस र फिलेतसको शिक्षा पनि त्यस्तै छ। 18तिनीहरूले सत्य छोडेका छन्। मरेकोबाट बिउँतने काम अघि नै भइसक्यो, अब हुँदैन भन्ने शिक्षा दिएर तिनीहरूले कतिको विश्वास नै बिगारिदिए। 19#गन्ती 16:5तर परमेश्वर आफैंले लगाएको उहाँको जग सधैँ बलियो भएर रहिरहन्छ। यसमा लेखिएकै छ: “प्रभुले आफ्नाहरूलाई चिन्नुहुन्छ,” अनि “परमेश्वरका नाउँ लिने सबै खराब कामहरूबाट अलग रहनुपर्दछ।” 20कुनै पनि ठूलो घरानामा किसिमकिसिमका भाँडा-कुँडाहरू हुन्छन्। त्यहाँ चाँदीका र सुनका मात्र होइन, काठका, माटाका भाँडाहरू पनि हुन्छन्। कुनैकुनै भाँडा ठूलो काममा चलाइन्छ र कुनै सानो काममा चलाइन्छ। 21सबै किसिमका खराब कुराहरूबाट शुद्ध भएर रहेको मानिस छ भने ठूलो इज्जतको भाँडाझैँ हुनेछ किनभने उसले त आफैंलाई चोखो राखेर हरअसल कामको लागि मालिकलाई मनपर्दो हुनेछ। 22जवानीमा आउने नराम्रा इच्छाहरूलाई छोडेर शुद्ध मनले परमेश्वरलाई सहायता मागी पुकार्नेहरूसँग उहाँको अघिअघि ठीक ठहरिने कुरामा विश्वास, प्रेम र शान्तिमा लाग। 23तर जान्दै नजानेका मूर्ख तर्कबाट अलग्गै बस। तिमीलाई थाहा नै छ, यसबाट त झगडा मात्र हुन्छ। 24प्रभुको सेवकले झगडा गर्नुहुँदैन। ऊ सबैसँग मिल्ने हुनुपर्दछ अनि शिक्षा दिन सक्ने र सबै कुरा सहन सक्ने हुनुपर्दछ। 25उसले विरोधीहरूलाई नम्र भएर सम्झाउन सक्ने हुनुपर्दछ। त्यसो भए मात्र कतै परमेश्वरले विरोधीहरूको मन बदलिदिनसक्नुहुन्छ र तिनीहरूले सत्यलाई पूरै चिन्लान्। 26यसरी तिनीहरू आफ्ना होशमा आएर शैतानको फन्दाबाट उम्कन पाउनेछन् किनभने उनीहरूलाई शैतानले आफ्नो कामको लागि पक्रेर राखेको छ।
Currently Selected:
२ तिमोथी 2: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.